नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुल्यो, पुल सम्पन्न हुनै बाँकी

जिल्ला विशेष जीवनशैलि पालिका विशेष समाचार समाज

नुवाकाेट, १ कात्तिक २०८३ ।

नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुलेकाे छ । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली नदीमाथिका दुई वटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको हाे ।

ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको सहजताका लागि सञ्चालनमा ल्याइएको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिनुभयाे । पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको उहाँकाे भनाइ छ ।

झोलुङ्गे पुल सञ्चालनमा आएपछि आवतजावतका साथै राहत सामग्री ओसारपसार र पुनः स्थापनाका काममा पनि सहज भएको छ । पुलका दुवैतर्फका चार ठाउँमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने बाँकी नै छन् । सम्पन्न हुन बाँकी नै भएपनि प्राविधिकले पुलबाट आवतजावत गर्न सक्ने जानकारी दिएकाले सहजीकरणा गरिएकाे छ । पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१ को ढुङ्गेबाट बाढीले प्रत्यक्ष रूपमा प्रभावित बनाएको त्रिशूली बजार हुँदै विदुर नगरपालिका–७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ ।