गीता जयन्तीको अवसरमा काठमाडौंमा श्लोक वाचन प्रतियोगिता हुने

काठमाडौं, २ मंसिर २०८२ ।

गीता जयन्तीको अवसर पारेर काठमाडौँमा श्लोक वाचन प्रतियोगिता हुने भएको छ । संस्कार इन्टरनेसनल बोर्डिङ स्कुल, सामाखुसीमा गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद् भागवद् गीता श्लोक वाचन प्रतियोगिता हुने भएको हो ।

आधुनिकता, प्रविधिको तीव्र विकास र द्रुतगतिमा बदलिँदो जीवनशैलीबीच मौलिक संस्कार–संस्कृति जगेर्नाको आवश्यकता भएकाले श्लोक वाचन प्रतियोगिता गर्न लागिएको विद्यालयले जनाएको छ । माघ १२ गते गीता जयन्तीको दिन हुने श्लोक वाचन प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र काभ्रे सहितका जिल्लाबाट करिब ४० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने छ ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न जिल्लाका विद्यार्थीहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले यसले संस्कार, सहकार्य र शैक्षिक आदान–प्रदानको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । विद्यालयका अनुसार गीता वाचन प्रतियोगिताले विद्यार्थीसँगै विद्यालय समुदायमा पनि संस्कृत उच्चारण, अभिव्यक्ति क्षमता, आध्यात्मिक चेतना, आत्मविश्वास तथा नैतिक चरित्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

नेपालका निजी विद्यालयहरू पछिल्ला वर्षहरूमा संस्कृत शिक्षामा विशेष ध्यान दिन थालेका छन् । संस्कृत विषयभित्र समावेश अत्यन्त मूल्यवान् ग्रन्थ श्रीमद् भागवद् गीता विद्यालयस्तरमै पढाइने र विभिन्न कार्यक्रममार्फत विद्यार्थीलाई संस्कार तथा जीवनदर्शनसँग जोड्ने प्रयासहरू भैरहेको विद्यालयले जनाएको छ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds