निर्वाचन आयोगलाई नै अटेर गर्दै अधिकांश उम्मेद्वारहरु: बैंक खाता खोल्नै मान्दैनन्, नियम मान्न किन समस्या?

काठमाडौँ, ८ फागुन २०८२ ।

प्रतिनिधिसभा सदस्य उम्मेद्वारहरुले निर्वाचन आयोगलाई नै अटेर गरेको पाइएको छ । आयोगले आर्थिक पारदर्शिताका लागि छुटै बैंक खाता खोल्न भनेपनि उनीहरुले नखोलेको पाइएको हो ।

निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न दल र उम्मेदवारलाई ताकेता गरेको छ । आयोगले चुनावकाे प्रचारप्रसारसम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी उम्मेदवारलाई तत्काल खाता खोल्न स्मरण गराएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले  जानकारी दिनुभयो । उहाले यो हप्ता केही दिन सार्वजनिक बिदा परेकाले फागुन १० गते आइतवार वा सोमवारसम्ममा धेरैजसो उम्मेदवारले खाता खोलिसक्ने अपेक्षा आयोगको रहेको बताउनुभयो ।

निर्वाचन आयोगले चुनावमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारले बैंक खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार अहिलेसम्म ७ दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी प्राप्त छ । उम्मेदरवारहरुले देशमा सुशासन कायम गर्ने प्रतिवद्धता गरिरहदा अहिले नै नियम मान्न आनाकानी गरेको देखिएको छ ।

चुनाव प्रचार गर्ने शैलिदेखि घरदैलो अभियानसम्मका नियम भएपनि त्यो पूर्ण रुपमा पालना भएको पाइदैन । दलहरुले प्रचारलाई नै शक्ति प्रदर्शनको रुपमा लिएर हिडेको पाइन्छ जुन निर्वाचन आचारसंहिता बिपरित हो । निर्वाचन आचारसंहितामा अरुको आलोचना गर्ने, होच्याउने तथा गालीगलौच गर्न पाइदैन तर उम्मेदवारहरुले आफ्नो एजेन्डा भन्दा अरुको आलोचनामा बढी समय बिताएका छन् ।