सुजन प्रेमी सुवेदी
शान्तिको विगुल फुक्ने देश नेपाल, २०८२ सालको भदौ २३ र २४ गते एउटा रणभूमिजस्तै बन्न पुग्यो । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा अड्डा जलाउनेसम्मका गतिविधि भए । यसअघि विभिन्न स्वार्थमा कृडास्थल बन्न बाध्य देशलाई यसपटक पनि प्रयोग गरिएको थियो । घटनाको बारेमा म भित्र जान चाहन्न त्यसैले २४ गतेको विध्वंशपछि अभिभावकविहिन बन्दाको देशको अवस्था भने स्मरण गर्नैपर्छ । भदौ २३ गते जे भयो यसले २४ गते निम्त्यायो भन्ने बहस पनि व्यप्त भैरहेको छ । २४ पछि २३ भन्नेहरुपनि छन् २४ पश्चातको परिस्थिति झन् कहालिलाग्दो भएको थियो । देशमा कुनै सरकार थिएन, कामचलाउ सरकार यहि हो भन्नेपनि थिएन, देशका नेता, सांसद वा मन्त्री तथा देशको संसद यो हो भन्नेपनि थिएन । देशमा विध्वंश भैसकेपछि यसको जस अपजस लिन कोहि तयार भएनन् अर्थात आन्दोलन कसको नेतृत्वमा भयो भन्ने नै अन्यौल भयो । आन्दोलनको मात्रै होइन त्यो समयमा देशकै अभिभावक वा नेतृत्वकर्ता को हो भन्ने अन्यौलता थियो ।
आन्दोलनको अवस्था मत्थर हुदै जाँदा देशका विभिन्न निकायले अभिभावक खोज्न थाले । यहि क्रममा त्यस्तो एक व्यक्तिको नाम चर्चामा भयो जुन अकल्पनीय र अविश्वासनीय थियो । यसअघि सर्वोच्च अदालतको सफल कमाण्ड सम्हाल्नुभएकी देशकै प्रथम महिला प्रधानन्यायधिस सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्रीको रुपमा यो देशले पाउनेभयो । २०८२ सालको भदौ २६ गते ७३ वर्षीय कार्की देशको ३९ औं र प्रथम महिला प्रधानमन्त्रीको रुपमा रहने सहमती जुट्यो । सांसद विघटन भयो, कार्की प्रधानमन्त्री हुनुभयो र २०८२ सालको फागुन २१ गते चुनावको मिति समेत घोषणा भयो । यो समयमा सांसद विघटन भैसकेपछि सरकारले ६ महिनाभित्र चुनाव गराउनुपर्ने अर्को कानूनी दवाब थियो । पूर्व प्रधानन्यायधिशको नाताले कार्कीलाई कानूनी पाटोबारे जानकार हुने नै भयो । कार्कीले २७ गते पदबहाली गर्दै यो देशमा अभिभावकत्व प्रदान गर्नुभयो । विषम परिस्थितिामा एउटा आमाले सन्तानलाई दिएको काखजस्तै भयो ७३ वर्षीय कार्की आमाको नेतृत्व यो देशका लागि । कार्की नेतृत्वको सरकारले पटक पटक गरेर गैरराजनीतिक दलका मन्त्रीहरु पनि नियुक्ति गर्यो जसमा यसअघि सफल भएका पूर्व कर्मचारी देखि सञ्चारकर्मीसम्म अटाएका थिए । कुनै राजनीतिक दाग र आलोचना विनाको सरकार बनाउन सुशीला आमा सफल हुनुभयो ।
सरकारले केहि बाहेक अनगिन्ति उदाहरणीय काम गर्न सक्यो जसले चुनाव हुने आशा जगाउँदै गयो ।
कार्की नेतृत्वमा रहेर देशमा कायापलट नै गर्नसक्ने कुरा भएन किनकि यो सरकार म्यादि थियो र चुनाव गराउनका लागि नै थियो । भएका बजेटको उचित खर्च, भएका योजनाको उचित कार्यान्वयन गर्दै यो सरकार फागुन २१ मा निर्वाचन सम्पन्न गराउन केन्द्रीत भयो । आन्दोलनका क्रममा गुपचुप भएका राजनीतिक दल, नेता तथा अधिकांश विश्लेषक भन्नेहरुले पनि फागुन २१ मा चुनाव सम्भव छैन भन्न थाले । कतीपयले सांसद पुनर्स्थापना हुने र पुरानै दल कायम हुनेसम्म आंकलन गरे भने कतीपयले कार्की नेतृत्वको सरकार पूर्ण असफल हुने भन्दै खिसिट्युरी गर्न भ्याए । सुशीला कार्कीलाई “आमाको नेतृत्वको सरकार हो, यो सफल हुन्छ” भन्दै हौसला दिनेहरुपनि कम थिएनन् । प्रायःले सम्बोधनमा “आमा” भन्दै उहाँलाई थप जिम्मेवारी बोध गराएका थिए । कार्की सरकारले विभिन्न काम गर्यो जसमा चुनावको तयारी देखि देशमा विध्वंश गर्नेहरु समातिनेसम्मका कार्यहरु प्राथमितामा परे । आमाको नेतृत्वको सरकारले कार्यकालको छोटो अवधिमा नै लोककल्याणकारी काम गरेर उदाहरणीय बन्न पुग्यो । हिजो विरोध गर्नेहरुपनि सरकारको फ्यान हुन थाले तर नैतिकताले उनीहरु मुख खोल्न सक्दैनथे । सरकारले केहि बाहेक अनगिन्ति उदाहरणीय काम गर्न सक्यो जसले चुनाव हुने आशा जगाउँदै गयो । एक दुई गर्दै चुनावका तयारीहरु पनि हुँदै गए जसमा सदियौँदेखि मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धीत जिल्लामा जानुपर्ने झण्झटको अन्त्य भै राष्ट्रिय परिचयपत्रसँग सिस्टम इन्टिग्रेट गरेर घरै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने सिस्टम लागु भए । यी र यस्ता कैयौँ कामहरु सरकारले चाहेमा गर्न सक्छ भन्ने प्रमाणित कार्की सरकारले गर्यो ।
धेरै मन्त्रालयको जिम्मेवारी, विश्वास गरेका मन्त्रीहरुको राजिनामा आउनु, निर्वाचन हुन नदिने तत्वहरु सक्रिय हुनु र निर्वाचन गराउनेैपर्ने कानूनी दवाब हुनु कार्की आमाका लागि सानो चुनौति थिएन ।
आमाको नेतृत्वमा बनेको सरकारले निर्वाचनको भव्य तयारी गरिरह्यो । निर्वाचन विथोलिने चुनौतिका बाबजुतपनि सरकार काममा तल्लीन भयो किनकि निर्वाचन गराउनु नै छ । प्रतिष्ठा बोकेका मन्त्रीहरुको साथमा कार्की सरकार थियो । गैरदलीय बनेको कार्की सरकार अघोषित रुपमा विभिन्न नयाँ दलको बन्दै थियो, कारण यस सरकारका मन्त्रीहरु विभिन्न राजनीतिक दलसँग जोडिएर आफ्नो रोटी सेक्नेतिर सोझिन थाले । सरकारमा रहँदैगर्दा चुनाको दिन नजिकिएसँगै मन्त्रीहरुमा अब प्रत्यक्ष चुनाव जितेर फेरि मन्त्री हुने लालच पलायो । जसले गर्दा निर्वाचनको मनोनयनको दिनसम्म सरकारका केहि मन्त्रीहरुले राजीनामा दिएर कार्की आमालाई एक्लै बनाए । यो कदम एक हिसाबले हेर्दा देश र कार्की आमाको सरकारलाई दिएको घात हो । झन् धेरै साथ र सहयोग चाहिने बेला अधिकांश मन्त्रालय मन्त्रीविहिन हुन पुग्यो । जुन सुशीला आमाको निर्वाचन गराउने लक्ष्यमाथि थप चुनौति थपिनु थियो । बलियो साथ पाइएला भन्ने दृढता बोक्नुभएकी कार्की साथ पाउनुपर्ने समयमा नै लगभग एक्लै हुनुपर्ने परिस्थिति आउलाजस्तो भयो ।
सुशीला आमाको त्यो साहसले देशले एउटा निकास पाएको छ । देश सुरक्षित अवतरण भएको छ । यतिमात्रै नभएर स्वार्थको कृडास्थल हुनबाट पनि जोगिएको छ ।
धेरै मन्त्रालयको जिम्मेवारी, विश्वास गरेका मन्त्रीहरुको राजिनामा आउनु, निर्वाचन हुन नदिने तत्वहरु सक्रिय हुनु र निर्वाचन गराउनेैपर्ने कानूनी दवाब हुनु कार्की आमाका लागि सानो चुनौति थिएन । समाजमा अझैपनि महिलाहरु सफल हुन सक्दैनन् भन्ने भ्रम पालेको यो समाजले सुशीला कार्कीबाट निर्वाचन हुन्छ भन्नेमा समेत बारबार शंका गरिरह्यो । समाजको दृष्टिकोण, देशको अवस्था, परिस्थिति र दवाबका बाबजुद फागुन २१ गते सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ । देशमा निर्वाचन मात्रै भएन, इतिहास बोकेको प्रथम महिला प्रधानमन्त्रीको कार्यकाल पनि सफल भएको छ । अझै ऐतिहासिक र प्रशंसायोग्य भएको छ । छिटपुट घटना बाहेक विगतको भन्दा अझै प्रभावकारी र दमदार तवरले निर्वाचन सम्पन्न भएको छ । यो हामी नेपालीहरुको सफलता र जित हो । एउटा आमाले सन्तान मात्रै होइन, देशलाई नै अभिभावकत्व प्रदान गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण पनि हो यो । सुशीला आमाको त्यो साहसले देशले एउटा निकास पाएको छ । देश सुरक्षित अवतरण भएको छ । यतिमात्रै नभएर स्वार्थको कृडास्थल हुनबाट पनि जोगिएको छ । यो गुन इतिहासले सँधै सम्झिरहनेछ । म अब सुशीला आमाको फ्यान र प्रशंसक मात्रै होइन खुल्ला समर्थक समेत भएको छु । पुजनीय आमा तपाईँ धन्य मात्रै होइन साक्षत् देवि भएर यो देशलाई अवतरण गराउनुभयो । एक अबोध सन्तानले झैँ उहाँको काखमा लुट्पुटिएर भन्न मन छ “आमा आइ लभ यु सो मच”


