काठमाडौँ, २ चैत २०८२ ।
पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले बढाएर नयाँ भाउ पठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले बताएको छ ।
अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरकाे १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य लिटरकाे १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १५१ रुपैयाँ पुगेको छ । त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लिटरकाे १६९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको मूल्य लिटरकाे १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
भारतबाट भाउ बढेर आए पनि निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको भाउ भारी मात्राले नबढाएको जनाएको छ । पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशिएको छ । त्यसकाे प्रभाव नेपालसम्म परेको छ ।



