डा. केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार सहितकाे टाेली धनगढी गयाे

समाचार समाज स्वास्थ्य समाचार

काठमाडाैं, १० साउन २०८३ ।

धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार सहितकाे टाेली धनगढी गएकाे छ । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा धनगढी गएका हुन् ।

धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरेको छ । यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् ।

शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।