धादिङ, ८ कात्तिक २०८३ ।
मलेखुको झोलुङ्गे पुलमा माेटरसाइकलकाे चाप बढेकाे छ । त्रिशूली नदीको बाढीले धादिङ फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुमा रहेको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको हाे ।
धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–३ त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै दुईपाङ्गे साधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ । दशैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।
गएको भदौ १० मा आएको बाढीले धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।
