हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि

अचम्मका कुरा जिल्ला विशेष समाचार

गाेरखा, २८ असाेज २०८३ । 

हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि भएकाे छ । एको आइतबार बुढीगण्डकी नदीमा बाढी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढी आएको पुष्टि गरेको हाे ।

स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुरुमा हिमपहिरो ग्लेसियर (हिउँ, बरफ र गेग्य्रान)मा खसेको र उङदिलुङसँगै स्यारखोलाको दोभान थुनेको थियो ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ उङदिलुङ खोला (चामर हिमाल र स्येराङ्दी हिमाल)बिचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान ४ बजेर २० मिनेटमा पहिरो खसेको थियो । कमजोर चट्टानबाट झण्डै ६ हजार मिटरको उचाइमा हिमपहिरो तथा झण्डै पाँच हजार पाँच सय मिटरको उचाइमा रहेका ग्लेसियर (हिउँ तथा गेग्य्रान)सहितको ठुलो पहिरो सिर्जना भएको प्रतिवेदनमा भनिएको छ ।