सुजन प्रेमी सुवेदी
बागलुङ, २४ असोज २०८३ ।
बागलुङबासी दशैँ नजिकिएसँगै मालढुङ्गाको पुल बन्ने आशामा छन् । गत असोज ८ गतेदेखि परेको अविरल बर्षाका कारण क्षति भएको बागलुङ पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेवल पुल छिटै मर्मत हुने बागलुङबासीले आशा गरेका हुन् ।
असोज २५ गतेदेखि दशैँको रौनक सुरु भएपनि बागलुङ जिल्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने मालढुङ्गाको पुलमा क्षति पुग्दा बागलुङ सडकसञ्जालसँग विच्छेद भएको छ । पुल मर्मतकार्य नसकिँदा दशैँमा घर फर्किनेहरुसमेत समस्यामा परेका छन् ।
हप्तादिन अघिबाटै बागलुङलाई राष्ट्रिय सडकसँग जोड्ने कालीगण्डकी नदीमाथिको मालढुङाको पुल मर्मत गर्न थालिएको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको कालीगण्डकी नदीको बाढीले पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
मूल संरचनामा बाढीले क्षति पुर्याए पनि पुलसँगै जोडिएको पर्खाल कटान गरेकाले तत्कालका लागि ग्याबिन जाली लगाउने काम भैरहेको छ । एक हप्ताभित्र पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको भएपनि सोचअनुसारको काम हुन नसकेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार चाडबाड आइसकेकाले २४ सै घण्टा काम गरेर भएपनि अबको एकदुई दिनभित्रै पुलको मर्मत सम्पन्न भएर सञ्चालनमा आउनेछ ।
कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा पर्वततर्फको भागमा क्षति पुगेपछि बागलुङ जिल्ला सडक सञ्जाल विच्छेद भएको छ । दशैँको समयमा बागलुङ घुम्न आउने पर्यटकलाई समेत यो पुल नहुँदा समस्या भएको छ । विगतका दशैँहरुमा जिल्ला सदरमुकामदेखि गाउँ गाउँका पर्यटकीय स्थलसम्म यतिबेला पर्यटकहरुको उपस्थिति देखिने गरेकोमा अहिले पुरै बागलुङ सुनसान छ ।
अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सडकको पहुँच नहुँदा समस्या थप समस्या भएको छ । पर्वत तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुलाई अझै सास्ती भएको छ । पुलमा क्षति पुग्दा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तर वैकल्पिक बाटोको रुपमा फलेवास जैमिनीघाट पुलमात्र रहेको र उक्त स्थानमा समेत बाटोको अवस्था नाजुक रहेको छ ।
पुलमा पुगेको क्षतिपछि दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु ओसारपसारमा पनि प्रभाव परेको छ । बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने गाडीले समेत यो पुल प्रयोग गर्दै आएका थिए । बागलुङलाई सडकसँग जोडने मुख्य नाकामै रहेको मालढुङ्गा पुल दुई हप्ताभन्दा लामो समय बन्द हुँदा व्यापार र पर्यटनमा समेत ठुलो असर परेको छ ।
