बूढीगण्डकी बाढी : ३५ घर बगे, मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

जिल्ला विशेष जीवनशैलि माैसम यातयात समाचार समाज

गाेरखा, २५ असाेज २०८३ । 

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो ।

बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयाे । बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल समेत बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले स्यार खोलामा बाढीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिनुभयाे । पछिल्लाे समयमा नदीमा पानीकाे बहाव नदेखिएपछि बुढीगण्डकी नदी फेरि थुनिएको आशंका गरिएकाे छ । केहि समयदेखि  नदीमा जलप्रवाह नदेखिएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयाे ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताउनुभएकाे छ ।