‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाको आपत्ति, महाभारतका पात्रको गरिमा कायम राख्न आग्रह

चर्चा बाहिरका कुरा धार्मिक तथा आध्यात्मिक मनाेरञ्जन समाचार साहित्य सृजना

ललितपुर, २७ कात्तिक २०८३ ।

‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाले आपत्ति जनाउनुभएकाे छ ।  नेपाली चलचित्र ‘पाँच पाण्डव’ को नाम, कथावस्तु तथा महाभारतका धार्मिक पात्रहरूको प्रस्तुतिप्रति लेखिका तथा पत्रकार अर्चना झाले गम्भीर आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले मनोरञ्जन र सामाजिक सन्देशका नाममा सनातन धर्म, महाभारत तथा त्यसका आदर्श पात्रहरूको गरिमामा आँच पुग्ने गरी प्रस्तुति नगर्न चलचित्र निर्माण पक्षलाई आग्रह गर्नुभएको छ। चलचित्रलाई नजिकबाट बुझ्ने प्रयास गरेको उल्लेख गर्दै झाले यस विषयमा वेदिका केसी, गुरु श्रीनिवास आचार्य र पुष्कर खतिवडासँग समेत छलफल गरेको बताउनु भयो।

रामायण र महाभारत धार्मिक ग्रन्थ लेखिसक्नुभएको तथा अरु विभिन्न धार्मिक ग्रन्थहरू अध्ययनमा संलग्न रहनुभएकी झाका अनुसार चलचित्रले सामाजिक सन्देश दिन खोजेको पक्ष सकारात्मक भए पनि त्यसका लागि पाँच पाण्डव, द्रौपदी, दुर्योधन र भगवान् श्रीकृष्णजस्ता महाभारतका पात्र तथा प्रसङ्ग जोड्नु आवश्यक थिएन। चलचित्रको कथावस्तु र महाभारतका पात्रहरूको आदर्श तथा मर्यादाबीच मेल नदेखिएको उहाँको ठम्याइ छ।

उहाँले वरिष्ठ कलाकार हरिवंश आचार्यसहित चलचित्रका कलाकारहरूले विभिन्न अन्तर्वार्तामा महाभारतका पात्र र प्रसङ्गबारे चर्चा गर्ने तथा आफूहरूलाई पाँच पाण्डवका रूपमा प्रस्तुत गर्ने गरेको विषयसमेत उठाउँदै पत्रकार प्रकाश सुवेदीसँगको कार्यक्रममा भएको हाजिरीजवाफ, चलचित्रका पोस्टर तथा ट्रेलरमा रथसहित पाँच पाण्डवको पहिचान प्रस्तुत गरिएको प्रसङ्ग र पोस्टरमा इभागिरीलाई द्रोपदी को पहिरणमा राख्नु सनातन धर्मलम्बीहरूलाई जिस्काएको जस्तै बोध भएको अनुभव सुनाउनुभयो। जुन त्यो पहिरण चलचित्रमा छँदै छैन। यसले दर्शकमा कस्तो सन्देश जान्छ भन्ने प्रश्न उहाँकाे छ ।

विशेषगरी चलचित्रमा नारी पात्रको प्रस्तुति र धार्मिक पात्रहरूको नामलाई हास्य तथा मनोरञ्जनसँग जोडिएको विषयमा उहाँले पुनर्विचार गर्नुपर्ने भन्दै झाले चलचित्र निर्माण गर्नु कलाकारहरूको स्वतन्त्रता भए पनि धार्मिक तथा सांस्कृतिक विषय प्रस्तुत गर्दा सामाजिक उत्तरदायित्व र संवेदनशीलता आवश्यक हुने बताउनुभयो।  ‘पाँच पाण्डव’ नाम नै राख्ने हो भने महाभारतका पात्र र प्रसङ्गलाई मर्यादित रूपमा प्रस्तुत गर्नुपर्ने, अन्यथा चलचित्रको कथावस्तुअनुसार उपयुक्त नाम राख्नुपर्ने उहाँको सुझाव छ।

उहाँले आफ्नो आपत्ति कुनै कलाकारप्रतिको व्यक्तिगत विरोध नभई सनातन धर्म, संस्कृति र महाभारतको गरिमाप्रतिको सम्मानसँग जोडिएको स्पष्ट पार्नुभएकाे छ । चलचित्र निर्माण पक्षले दर्शक तथा सनातन धर्मावलम्बीहरूको भावनालाई ध्यानमा राखेर आवश्यक सुधार गर्ने  उहाँकाे अपेक्षा छ । महाभारत धर्म, न्याय, कर्तव्य, नारी सम्मान र जीवन दर्शनको महान् ग्रन्थ भएकाले यसको पात्र र प्रसङ्ग प्रस्तुत गर्दा मर्यादा कायम राख्नुपर्ने झाको जोड छ। झाद्वारा लिखित “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत” नामक भाषिक ग्रन्थ एक महिनाअघि मात्रै विमाेचन भएकाे थियाे ।