चितवन, २७ कात्तिक २०८३ ।
कारको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । चितवनको भरतपुर–१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा मृत्यु भएको हाे ।
शुक्रबार बिहान ९ बजे बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा अन्य दुई जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको कारले पैदलयात्रामा रहेका उनीहरूलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेललाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा चिकित्सकले पौने १० बजे मृत घोषणा गरेका थिए । भरतपुर महानगरपालिका–१६ फुर्तीचोक का ३३ वर्षीय कार चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् ।
