पूर्व उपराष्ट्रपतिद्वारा मैथिली भाषाको महाभारत ग्रन्थ विमोचन

चर्चा बाहिरका कुरा ज्ञानगुनका कुरा धार्मिक तथा आध्यात्मिक लेख रचना शिक्षा समाचार समाज साहित्य सृजना

सुजन प्रेमी सुवेदी
काठमाडौँ, ९ असोज २०८३ ।

भूतपूर्व उपराष्ट्रपति तथा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाको महाभारत ग्रन्थ(पुस्तक) विमोचन गर्नुभएको छ । शुक्रवार पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले अर्चना झाद्वारा लिखित “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत” नामक भाषिक ग्रन्थ विमोचन गर्नुभएको हो ।

झाद्वारा लिखित पुस्तकमा महाभारतका १८ पर्व नै समेटिएको पुस्तक विमोचन कार्यक्रमको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ । साहित्यकार, पत्रकार एवं लेखिका झाको पुस्तक मैथिली भाषाको पहिलो महाभारत ग्रन्थ भएको र गद्य शैलीको यो महाग्रन्थ ६१३ पृष्ठको रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषा र संस्कृति संरक्षणमा ग्रन्थको अतुलनीय भूमिका हुने बताउनुभयो । लेखिका झाले मातृभाषामा ग्रन्थको पूनर्लेखन गरेर मिथिला क्षेत्रमा एउटा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ ।

नेपालमा मैथिली भाषामा सम्पूर्ण महाभारत सहज उपलब्ध नभएपछि लेखिका झाले मातृभाषा संरक्षण र ग्रन्थ संरक्षणका लागि मैथिलीमा ग्रन्थ लेख्नुभएको बताउनुभएको छ । ग्रन्थमा महाभारतका महिला पात्रहरूको जिवन, त्याग, पिडा, शक्ति, धैर्य, निडरता तथा योगदानलाई विशेष महत्त्व दिइएको उहाँको भनाइ छ ।

विमोचन कार्यक्रममा पशुपतिनाथ मन्दिरका प्रमुख अर्चक गणेश राहल भट्ट सहित धार्मिक, सामाजिक तथा साहित्यिक क्षेत्रका विद्वत व्यक्तित्व, सञ्चारकर्मी तथा शुभेच्छुकहरुको समेत उल्लेख्य उपस्थिति थियो ।