काठमाडौ, ५ वैशाख २०८३ ।
नेपालका बैंकहरुले भटाभट शाखा समायोजन गर्न थालेका छन् । बाणिज्य देखि बिकास बैंकसमेतले सूचना निकाल्दै शाखा समायोजन गर्न थालेका हुन् ।
वित्तीय सूचकहरू कमजोर बन्दै जानु, कर्जा विस्तार सुस्त हुनु, खराब कर्जाको अनुपात बढ्नु र ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झर्नुजस्ता कारणले बैंकहरू दबाबमा परेका छन् । यही दबाब व्यवस्थापन गर्न बैंकहरूले देशभर शाखा समायोजन (ब्रान्च मर्जर) अभियानलाई तीव्र बनाएका छन् ।
बैंकले बचतमा दिने ब्याजदर र ऋणमा लिने ब्याजदरको अन्तर झण्डै ६ देखि ८ प्रतिशत हुँदापनी बैंकहरुले प्रशासनिक खर्च धान्न नसकेर शाखा समायोजन गर्नुपरे अवस्था देखिएको छ । यसलेबपछिल्लो समय नेपालको बैंकिङ क्षेत्र गम्भीर चुनौतीको चरणबाट गुज्रिरहेको देखाउछ ।
हालै नेपाल बैंकर्स संघ का प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई भेटेर बैंकिङ क्षेत्रका समस्या र सुधारका आवश्यकताबारे ध्यानाकर्षण गराएका छन् । बैंकहरूले विशेष गरी खराब कर्जा व्यवस्थापनमा पुनरावलोकन, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन सहज बनाउन स्थानीय तहको भूमिका स्पष्ट गर्न तथा बक्यौता आम्दानीमा कर सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न माग गरेका छन् ।
हाल बैंकहरुले बचतमा अति न्यून ब्याज दिने र ऋणमा विभिन्न बहानामा धेरै ब्याज लिने, सेवा शुल्कका नाममा ऋण रकमको प्रतिशतका आधारमा शुल्क लिने, पद र प्रतिष्ठा भएका र चिनजानकाहरुलाई ऋण दिने तर सर्वसाधारणलाई सहज पहुँच नदिने गरेको गुनासो समेत आउने गरेको छ । यस्तै ऋण लिन बैंकका कर्मचारी रिझाउनुपर्ने आलोचना समेत हुने गरेको छ । शाखा समायोजन हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
