आज दशैँको महानवमीः शक्तिपीठमा भक्तजनको घुइँचो, तलेजु मन्दिर खुला

जीवनशैलि धार्मिक तथा आध्यात्मिक समाचार समाज

काठमाडाैँ, ३ कात्तिक २०८३ ।

दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ । आजका दिन काठमाण्डौ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्याका भक्तजन पुग्ने गर्छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यो मन्दिर हरेक वर्ष महानवमीको दिन मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार बिहान ५ बजेदेखि खुला गरिएको तलेजु मन्दिरमा आज बेलुका ६ बजेसम्म खुला हुनेछ । आजको दिन तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको हो । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।