बागलुङ, १ मंसिर २०८३ ।
सहकारी ठगीमा बागलुङका देवकुमार नेपालीलाई ८ वर्ष कैद सजायको फैसला सुनाइएको छ । इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड बढी जरिबानाको फैसला गरेको हो ।
पोखराकोको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनामा देवकुमारलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार जरिबानाको फैसला भएको कास्की जिल्ला अदालतका अधिकृत तारानाथ पोखरेलले जानकारी दिनुभयो । न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले देवकुमारसहित ७ जनालाई कैद सजाय, जरिबाना र बिगो रकम असुल गर्ने फैसला गरेको उहाँकाे भनाई छ ।
सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा अन्य ४ जना प्रतिवादीलाई ६ वर्षका दरले कैद सजाय हुने फैसला गरेको छ । सञ्चालक चित्रबहादुर र शक्ति किसानलाई ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई ६ वर्ष कैद सजाय र जनही १ करोड २६ लाख २३ हजार रुपैयाँ नै जरिबाना गर्ने फैसला भएको छ ।
यो सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् । नेपाली हाल बागलुङमा रहेको इमेज सहकारी ठगीमा पूर्पक्षका लागि बागलुङ कारागारमा छन् । यो सहकारीमा पनि नेपाली नै संस्थापक अध्यक्ष हुन् ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीमाथि बागलुङ र पोखरामा सहकारी ठगीको आरोप थियो । नेपालीले २०७४ सालको स्थानीय चुनाव र २०७९ को स्थानीय चुनावमा ढोरपाट नगरपालिकाको प्रमुख पदमा निर्वाचन जितेका थिए ।
