काठमाडाैँ, ८ कात्तिक २०८३ ।
भोलिदेखि सुरु हुने एनपीएलको सबै तयारी पूरा भएकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको हाे ।
मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएकाे आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ । प्रतियोगितालाई व्यवस्थित र दर्शकमैत्री बनाउन मैदानमा पनि व्यापक सुधार गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएपछि यस संस्करणको महत्त्व थप बढेको छ । प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता पनि रहनेछ । अनुभवी विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने अपेक्षा छ ।
प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमा सञ्चालन हुनेछन् । भोलिदेखि सुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्नेछन् । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।
यस्तै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर प्रतियोगिताको पुरस्कार रकम घोषणा गरेको हो ।
गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै पहिलाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्सले पनि १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाएकाे थियाे । क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रु चाैथाे हुने टाेलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच क्यानले एनपीएलको तेस्रो संस्करणबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट याे परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै झन्डै २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।
यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । हक–आई प्रविधिमा आधारित यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध गराउनेछ । हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था छ । यसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा छ ।
