देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अपराध राजनीति समाचार

काठमाडौं, २५ चैत २०८२।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे ।

अदालतले पक्राउ अनुमति दिइसकेको भएपनि देउवा दम्पती नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको गृह मन्त्रालय स्रोतले बताएकाे छ । हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ।