उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रशासन राजनीति समाचार समाज

काठमाडाैं, २६ चैत २०८२ ।

प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डाेलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित हुनुभएकाले साे व्यवस्था अनुरूप उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दावी गर्न पाउँदैन ।

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी ठाकुरलाई समर्थन गरेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई हुनुहुन्छ भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौलाले समर्थन गर्नुभएको छ । योसँगै उपसभामुखमा रुबी ठाकुर निर्वाचित हुने निश्चित भएको छ ।

यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने सहमती भएकाे राप्रपाका सांसद ज्ञानेन्द्र शाहिले बताउनुभएकाे थियाे तर रास्वपाले २ पार्टी सँगै छलफल गरेकाे बुझिएकाे छ । रास्वपाले राप्रपालाई समर्थन गरेर हर्क साम्पाङ नेतृत्वकाे पार्टीलाई समर्थन नगरे साम्पाङले सरकार र पार्टीकाे चर्काे आलोचना गर्नेछन भन्ने चर्चा समेत चल्न थालेको थियो । साम्पाङले बेलाबेलामा रास्वपा र सरकारकाे सामाजिक सञ्जालबाटै चर्काे आलोचना गर्दै आएका छन् ।

सत्तारूढ दल रास्वपासँग एक्लै झन्डै दुईतिहाइ मत छ । ठाकुरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ । उहाँहरू दुवै जना सम्बन्धीत पार्टीका समानुपातिक सांसद हुनुहुन्छ ।  उपसभामुखको चुनाव भोलि हुँदैछ ।