काठमाडौँ, २९ चैत २०८२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टीको पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी भएको हो ।
गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन ।
गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस अनुसार भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ ।
रास्वपा नेताहरूका अनुसार असोजमा प्रथम महाधिवेशन गर्नका लागि आन्तरिक छलफल सुरु भएको छ । रास्वपाका संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार सौराहामा भएको विस्तारित बैठकको निर्णय अनुसार महााधिवेशन गर्ने गरी पार्टीमा छलफल सुरु भएको छ ।
