काठमाडौँ, १ वैशाख २०८३ ।
प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास भएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेका हुन् ।
आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठनका वैज्ञानिकहरूले यो ब्याट्री आविष्कार गरेको बताएका छन् । यस विकासलाई वैज्ञानिकहरूले ठूलो प्रगतिको रूपमा दाबी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
परम्परागत ब्याट्रीहरूले रासायनिक प्रतिक्रियामार्फत ऊर्जा सञ्चय गर्छन् भने क्वान्टम ब्याट्रीले प्रकाश–पदार्थ अन्तरक्रिया प्रयोग गरेर ऊर्जा भण्डारण गर्छ, जसले गर्दा चार्जका लागि लामो समय कुर्नु पर्दैन ।
यसको अर्को विशेषता भनेको ब्याट्रीको आकार बढ्दै जाँदा चार्ज हुने गति पनि बढ्नु हो, जुन परम्परागत ब्याट्रीमा सम्भव हुँदैन । यस प्रविधिले भविष्यमा विद्युतीय गाडी, मोबाइल उपकरण तथा अन्य सामग्रीहरूलाई बिना तार टाढाबाटै चार्ज गर्ने सम्भावना देखाएको वैज्ञानिकहरू बताउँछन् ।
यो प्रविधि व्यावसायिक रूपमा सफल भएमा भविष्यमा ऊर्जा प्रयोग गर्ने तरिका नै पूर्ण रूपमा परिवर्तन हुने उनीहरूको दाबी छ ।
