पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिकः केहिकाे बढ्याे, केहिकाे घट्याे

अर्थ बजार समाचार

काठमाडाैं, १८ वैशाख २०८३ । 

पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिक भएकाे छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचि अनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ भने खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ । योसँगै काठमाडाैं उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडाैं उपत्यका, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रहेको पेट्रोलको भाउ अब २१६ रुपैयाँ भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २१४ रुपैयाँ भएको छ ।

खाना पकाउने ग्यासको भाउ १५० रुपैयाँले बढेको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।

यसअघि पूरा सिलिण्डरको २ हजार १० र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो । यता हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंका लागि प्रतिकिलोलिटर ४६ डलरले बढेको निगमले जनाएको छ ।