ललितपुर, १८ जेठ २०८३ ।
मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर आश्रम) ललितपुरको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित आश्रमको आर्थिक वर्ष २०८१/८२ को सामाजिक लेखापरीक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
गोदावरी नगरपालिका वडा नं १४ का वडाअध्यक्ष निरोज बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी, स्थानीय, संस्थाका पदाधिकारी, दानदाता, बाडेगाउँ प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक विक्रम के.सी लगायतको उपस्थिति भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक तथा सञ्चालक बालयोगेश्वर विजयश्री कृष्ण मूर्तिजी महाराजले संस्थाले आर्थिक वर्ष २०८१/८२ मा संस्थाले गरेका कार्यहरुको प्रतिवेदन पेस गर्नुभएको थियो ।
९१ जना बालबालिका रहेको आश्रमले १९ जना बालबालिकाको पुनर्मलन गराइसकेको र हाल ७२ जना बालबालिका रहेको, उनीहरू अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको प्रतिवेदनमा उल्लेख छ । २५ जना कर्मचारी तथा सेवकले बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा सँगै गाँस, बास र कपासको प्रवन्ध गरिरहेको संस्थाले जनाएको छ । संस्थामा रहेका पदाधिकारीहरुको सहयोग, दानदाताहरुको सहयोग लगायतबाट संस्था सञ्चालन भैरहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा वक्ताहरुले मामाघर आश्रमले बालमैत्री सेवा दिइरहेको र अझै उत्कृष्ट बनाउन सुझाव दिएका छन् । सामाजिक लेखापरीक्षक रुपेश साउदले संस्थाले हालसम्म गरेका गतिविधिहरुको कागजात चुस्त दुरुस्त राखेको र समयमा नै अध्याधिक तथा नविकरण गर्ने गरेकाले पारदर्शिता भएको बताउनुभयो । सेवा सँगै राख्नुपर्ने विवरणले पनि संस्थाको गरिमा फरक हुने उहाँको भनाई थियो ।
यस्तै प्रहरी निरिक्षक विक्रम के.सीले आश्रममा आउने र जानेहरुको विवरण राख्ने गरेमा अनुगमनमा सहज हुने बताउनुभयो । मामाघर आश्रममा त्यस्तो समस्या नभएतापनि आगामी दिनहरुमा समेत कागजात दुरुस्त राख्ने, नियम पालना गर्ने, रेखदेख गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी १४ का वडाध्यक्ष निरोज बज्राचार्यले नगरपालिका तथा वडा अभिभावको रुपमा रहेकाले निरन्तर नगरपालिकाले मापदण्ड लगायतका विषयमा अनुगमन गरिरहेको बताउनुभयो । संस्थाले भवन बनाउन लागिरहेको र वडा तथा नगरपालकाको तर्फबाट पनि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले गोदावरी नगरपालिका बालमैत्री नगरपालिका बनाउन आश्रमको समेत ठुलो भूमिका हुने उल्लेख गर्नुभयो ।
२०८० सालदेखि सञ्चालित आश्रमले वगतका वर्षहरुमा पनि सामाजिक लेखापरीक्षण गर्दै आएको छ । संस्थाको गतिविधि सरोकारवालालाई जानकारी गराउने र प्राप्त सुझावबाट संस्थागत सुधार गर्ने ध्येयले आयोजित कार्यक्रम सुजन प्रेमी सुवेदीको उद्घोषणमा सम्पन्न भएको थियो ।
