११ गतेदेखि १५ गतेसम्म पानी पर्ने, किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

कृषि जीवनशैलि माैसम समाचार समाज

काठमाडाैँ, ७ कात्तिक २०८३ ।

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने भएकाे छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको हाे ।

आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आग्रह गरेको छ । यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।

यता मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ ।

अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा धान पाकेर पहेँलपुर भएको छ । जेठ, असारमा रोपिएको बर्खे धानबालीका लागि गरिएको लगानीअनुसार अहिले बेलैमा भित्र्याउन नपाए नोक्सानी हुने जोखिम छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुन्छ ।

विगतमा पनि असोज/कात्तिक महिनामा आएको बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नुपरेको थियो । मंगलबारदेखि पानी पर्न सक्ने मौसमबारेका जानकारले यसअघि नै भनेकोमा मौसम पूर्वानुमान महाशाखाले भने आधिकारिक रुपमा ढिलो गरी पूर्वतयारी गर्न सचेत गराएको छ । त्यसअनुसार किसानलाई तत्काल धान काट्न र भित्र्याउन समस्या पनि छ ।