आगामी निर्वाचनका लागि सबै जिलाको मतपत्र छपाइ सकियो

काठमाडौँ, ५ फागुन २०८२ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । छपाइको  जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साझसम्म सबै जिलाको मतपत्र छापेर सकेको हो ।

निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने छ ।

प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ सकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न  गरेको बताइएको छ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने केन्द्रको तयारी छ।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको छ ।

कर्णाली र सुदुरपश्चिममा भने सबै मतपत्र पुगिसकेको छ । बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । निर्वाचन आउँ अब १६ दिन मात्रै बाकि रहेको छ ।

This will close in 0 seconds