लमजुङ, २६ फागुन २०८२ ।
लमजुङको दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरेर प्रादेशिक अस्पताल बेसीसहर ल्याएपनि बचाउन नसकिएको देखिएको उनले बताए । अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । –रासस


