अझै केही दिन मौसम बदली हुने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, २ चैत २०८२ 

अझै केही दिन मौसम बदली हुने देखिएको छ। अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही ठाउँहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागको थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँहरूमा मेघगर्जन र चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डौ र आसपासमा अहिले घाम लागे पनि दिउँसोपख बदली भएर हल्का पानी पर्ने सम्भावना छ । हिजोको वर्षा र हावाहुरीले प्रदूषण केही घटाए पनि पूरै हट्न सकेको छैन । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ ।