मामाघर आश्रम ललितपुरको सामाजिक लेखापरक्षण कार्यक्रम सम्पन्न, यस्तो छ संस्थाका गतिविधि

अर्थ बजार जीवनशैलि धार्मिक तथा आध्यात्मिक शिक्षा समाचार समाज

ललितपुर, २३ असोज २०८३ ।
मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर आश्रम) ललितपुरको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित आश्रमको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

संस्थाले वर्षभरि गरेका सामाजिक गतिविधि, आर्थिक आम्दानी तथा खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र संरक्षणको अवस्थाबारे सरोकारवालाहरुलाई जानकारी दिन सामाजिक लेखापरीक्षणको आयोजना गरिएको मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालका सञ्चालक बालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजले जानकारी दिनुभयो । गोदावरी नगरपालिकाका वडा नं १४ का वडा सदस्य कमला परियार, नगरपालिकाकी वरिष्ठ महिला विकास अधिकृत सीता गुरुङ, जनप्रतिनिधि, वडाका प्रतिनिधि, समाजसेवी, स्थानीय, संस्थाका पदाधिकारी, दानदाता, बाडेगाउँ प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक यसोदा घले लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका संस्थापक तथा सञ्चालक बालयोगेश्वर विजय कृष्ण मूर्तिजी महाराजले संस्थाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले गरेका कार्यहरुको प्रतिवेदन पेस गर्नुभएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन अन्तर्गत आर्थिक विवरणअनुसार संस्थाको कुल आम्दानी ९१ लाख ९७ हजार ७ सय ५१ रुपैयाँ र कुल खर्च ९१ लाख ५५ हजार ४ सय १० रुपैयाँ रहेको छ । संस्थाको आम्दानीमा नगद दान तथा दान रसिदबाट प्राप्त रकम, दानपेटिका, जिन्सी सहयोग, जन्मदिन तथा विशेष अवसरमा प्राप्त सहयोग, बैंक तथा क्यूआर कोडमार्फत प्राप्त रकम र मानवसेवा फाउण्डेसनसँगको सहकार्यबाट संकटमोचन यज्ञबाट प्राप्त सहयोग समावश गरिएको छ ।

संस्थाले बालगृह व्यवस्थापन तथा सञ्चालन, बालसंरक्षण तथा हेरचाह, बालबालिकाको शिक्षा, मनोरन्जन तथा क्षमता विकास, बालबालिकाको स्वास्थ्य तथा उपचार, बालबालिकाको पोषण, बालबालिकाको पारिवारिक पुनर्मिलन, बालबालिकाको स्टेशनरी तथा विद्यालय सामग्री, बालबालिकाको लागि खाद्यन्न/इन्धन व्यवस्थापन, बालबालिकाका लागि लत्ताकपडा, पोसाक, बालबालिकाको विद्यालय शुल्क, बालबालकाको आवास लगायत शर्षिकमा रकम खर्च गरेको छ । मामाघर आश्रममा गत आर्थिक वर्षमा आम्दानी खर्चकाृ हिसाब मिलान गराउँदा ४२ हजार ३ सय ४१ रुपैयाँ वचत (नाफा) देखिएको छ ।

संस्थाले नेपाल सरकारबाट प्रत्यक्ष अनुदान वा वैदेशिक सहायता नलिई स्वदेशी दानदाता, भक्तजन, शुभचिन्तक तथा धार्मिक महायज्ञबाट प्राप्त सहयोगका आधारमा सञ्चालन हुँदै आएको अध्यक्ष विजयकृष्ण मूर्तिले बताउनुभयो । हालसम्म कुल ९१ जना बालगृहमा आएका बालबालिकामध्ये १५ बालक र ६ बालिका गरी कुल २१ जनाको पुनर्मिलन गराइसकिएको उहाँको भनाई छ । हाल ३५ बालक र ३५ बालिका गरी कुल ७० जना बालगृहमा आश्रीत छन् । सबै बालबालिका विद्यालयको पहुँचमा रहेको र अधिकांश बालबालिका अध्ययन तथा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ठ र अब्बल भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा सहभागीहरूले संस्थाको कार्यसम्पादनको समीक्षा गर्दै आर्थिक पारदर्शिता, कानुनी प्रक्रिया, बालमैत्री वातावरण, गुणस्तरीय शिक्षा र बालबालिकाको भविष्य सुनिश्चित गर्न विभिन्न सुझाव दिएका छन् । गोदावरी नगरपालिका महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाकी वरिष्ठ महिला विकास अधिकृत सीता गुरुङले नगरपालिकाले निर्धारण गरेका बालमैत्री सूचकको पालना गर्न सुझाव दिँदै बालमैत्री नगर घोषणामा मामाघरको अतुलनीय योगदान रहने चर्चा गर्नुभयो । बालगृह सञ्चालन गर्न आर्थिक, सामाजिक तथा कानुनी रुपमा समेत निकै चुनौति हुन् हुँदा नियमानुसार सबै नियमित प्रक्रिया पुरा गर्न उहाँको सुझाव छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका सचिव दीपक अर्यालले स्वागत–सत्कारलगायतका खर्चमा मितव्ययिता अपनाउँदै बालबालिकाको दीर्घकालीन भविष्य निर्माणमा स्रोत केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी कक्षा १२ पुरा गरेपछि बालबालिकालाई सीपमूलक तालिम, स्वरोजगार र आत्मनिर्भर जीवनयापनका अवसर उपलब्ध गराउनुपर्ने भन्दै उहाँले यसबारे आश्रमले स्पष्ट नीति ल्याई सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै गोदावरी सरोकारका अध्यक्ष बेबीराज भण्डारीले गोदावरी नगरपालिका–३, तानचिनटारमा संस्थाले खरिद गरेको ६४ आना जग्गामा निर्माण हुने प्रस्तावित भवनलाई अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिँदै अपाङ्गमैत्री भवन अहिलेको अनिवार्य आवश्यकता भएको औँल्याउनुभयो । बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रममा रहेका बालबालिकाको अनुशासन, शैक्षिक उपलब्धि र नैतिक संस्कारको प्रशंसा गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक उपलब्धिसँगै व्यवहारिक ज्ञान, नैतिक शिक्षा र जीवनोपयोगी सीपलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १४ की वडा सदस्य कमला परियारले आश्रम निरन्तर सञ्चालनको शुभकामना दिँदै आश्रमले गरेका कार्यहरुको प्रशंसा गर्नुभयो ।यस्तै धार्मिक व्यक्ति शेखर शर्मा पौडेलले आश्रमको गतिविधि उत्कृष्ठ भएको भन्दै सादा जीवन र स्वच्छता सम्बन्धी विषय अवगत गराउनुभएको थियो ।

कार्यक्रमको अवसरमा लिखित सुझावसमेत मागिएको थियो । आश्रमले वडा नं ३ मा खरिद प्रक्रिया अगाडि बढाएको ६४ आना जग्गामध्ये ३० आना जग्गा पास भइसकेको जानकारी दिँदै संस्थाका अध्यक्ष महाराजले कार्यक्रममा आएका सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।