काठमाडाैँ, १२ कात्तिक २०८३ ।
चक्रवातका कारण नेपालमा आजदेखि वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्र्नब’को प्रभावले आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने भएको हाे ।
चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो हावाहुरी चल्ने सम्भावना भने नरहेकाे मौसमविद उज्ज्वल उपाध्यायले जानकारी दिनुभयाे । नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने उहाँको भनाइ छ ।
भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले हिजोदेखि नै बदली शुरु भएको छ । आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमासमेत ठूलो वर्षा र हिमपातको सम्भावना छ ।
पर्सि शनिवारसम्म धान नकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।
