जेनजी दिवसको फरक कथाः धर्मगुरुदेखि किन त्रास ?

अचम्मका कुरा धार्मिक तथा आध्यात्मिक लेख रचना विचार समाज

सुजन प्रेमी सुवेदी

२०८२ भदौ २३ गते “नयाँपुस्ता आन्दोलन” भन्दै सुरु भएको आन्दोलनमा कलिला विद्यार्थीको ज्यान गयो । २४ गते देशका मुख्य संरचना जले । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा अड्डा जलाउनेसम्मका गतिविधि भए । यसअघि विभिन्न स्वार्थमा कृडास्थल बन्न बाध्य देशलाई यसपटक पनि प्रयोग गरिएको थियो । घटना कसले र किन गर्‍यो भन्नेमा कोहि नेतृत्वकर्ता हुँ भन्दै आउन सकेनन् वा चाहेनन् । घटनाको बारेमा म भित्र जान चाहन्न त्यसैले २४ गतेको विध्वंशपछि अभिभावकविहिन बन्दाको देशको अवस्था भने स्मरण गर्नैपर्छ । घटनापछि देश सरकारविहिन हुन पुग्यो ।

पूर्व प्रधानन्यायधिस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । घटनापछि बनेको अन्तरिम सरकारले मंसिर १५ गते सोमबारका दिन मन्त्रीपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गर्‍यो ।

यहि सरकारविहिन अवस्थालाई नेतृत्वदायी भूमिकामा लैजानेबेलामा भने जेनजीका नाममा अनेकौँ नाम अगुवाको रुपमा आए । घटना २३ र २४ गते भएको थियो जतिबेला नेकपा एमाले नेतृत्वको सरकार थियो । एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते साँझ राजीनामा दिएपछि सरकारविहिन बनेको देशमा अनेकौँ लभिङ हुन थाले । भदौ २४ पश्चातको परिस्थिति झन् कहालिलाग्दो भएको थियो । अन्ततः पूर्व प्रधानन्यायधिस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । घटनापछि बनेको अन्तरिम सरकारले मंसिर १५ गते सोमबारका दिन मन्त्रीपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गर्‍यो । भदौ २३ गते जे भयो यसले २४ गते निम्त्यायो भन्ने बहस अझैपनि व्यप्त भैरहेको छ । २४ पछि २३ भन्नेहरुपनि छन् । गोली चलाउने र देश जलाउनेको बहस चल्दाचल्दै यो घटना भएको पनि एक वर्ष पुरा भैसकेको छ ।

जेनजी दिवसका दिन उपस्थित धर्मगुरूः तस्वीर अनलाइनखबर
जेनजी दिवसका दिन उपस्थित धर्मगुरूः तस्वीर अनलाइनखबर

यसअघिको सरकारको निर्णय कार्यान्वयनको रुपमा २०८३ साल भदौ २३ गते मंगलबार जेनजी शहीद दिवसको अवसरमा आन्दोलनका क्रममा जलाइएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि स्मृति सभा आयोजना गरियो । कार्यक्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसददेखि गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधारमन्त्री सुनिल लम्साल, मन्त्री महावीर पुन, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल लगायतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति थियो । कार्यक्रममा गत वर्ष भदौ २३ को जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाको परिवारका सदस्यहरूसमेत सहभागी थिए । शहीदको सम्मान र स्मरणका लागि आयोजित जेनजी शहीद दिवस कार्यक्रममा विवादित भनिएका धर्मगुरु बालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज (विजय भण्डारी) र आचार्य श्रीनिवास ( दिनेश प्रसाद पण्डित) पनि मञ्चमा देखिए । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा आयोजित यस कार्यक्रममा अनेकौँ अतिथिहरुको उपस्थिति थियो । जो कुनै न कुनै बेला एक न एक विवादमा परेकै छन् । विवादकै कुरा गर्ने हो भने कानुनमन्त्री सोविता गौतमदेखि गृहमन्त्री सुधन गुरुङसम्मका नेताहरु मुछिएका छन् ।

हिजोको विवादलाई मसला बनाएर कुनै पात्रमाथि निरन्तर प्रश्न उठाइन्छ भने ती मञ्का अन्य अनुहारहरु सबै निर्विवाद थिए ?

कार्यक्रमपश्चात नेपाली सञ्चारमाध्यामले धर्मगुरुले मञ्चमा स्थान पाएकोप्रति प्रश्न गर्दै विभिन्न कोणबाट रिपोर्ट प्रस्तुत गरे । उनीहरुले कुनैसमय विवादित भएकै आधारमा धर्मगुरुहरु मञ्चमा किन भन्दै निर्लज्ज प्रश्न उठाइरहेका थिए । तर त्यहि भिडमा कुनैसमय विवादित भएका अन्य पात्रहरुको भने न प्रश्न उठ्यो न चर्चा चल्यो । विवादित धर्मगुरुहरुको हिजोका विवादित कार्यशैलि प्रति मेरा पनि अनेकौँ असन्तुष्टि छन् । तर आज पक्कै उनीहरु विवादित छैनन् । यदि अहिलेपनि विवादित थिए भने केपी शर्मा ओली देखि दिपक खड्का जस्ता पत्रहरुलाई पक्राउ गर्न तम्सिएका गृहमन्त्री सुधन गुरुङले एउटै मञ्मा बस्ने अवसर दिन्थे होला ? हिजोको विवादलाई मसला बनाएर कुनै पात्रमाथि निरन्तर प्रश्न उठाइन्छ भने ती मञ्का अन्य अनुहारहरु सबै निर्विवाद थिए ? यदी कुनैसमयको विवादलाई अहिलेपनि विषयकेन्द्रीत बनाउने हो भने गेरुवस्त्रधारी धर्मगुरुहरुमाथि मात्रै प्रश्न किन ?

जेनजी दिवसका दिन उपस्थित धर्मगुरूः तस्वीर अनलाइनखबर

विभिन्न बहानामा धार्मिक क्षेत्र दुषित बनाउने खेल नेपालका लागि नौलो होइन । धर्मगुरुको मञ्चमा स्वागत देखेर सनातन धर्ममाथि खेल खेल्नेहरुको मुटु पक्कै चस्किएको हुनुपर्छ । कतीपयको टिप्पणी पनि देखिन थालेको छ कि धर्म निरपेक्ष देशमा धर्मगुरु किन ? भन्ने । तर उनीहरुलाई धर्म निरपेक्ष भनेको सनातन हिन्दुधर्म मास्नु होइन सबै धर्मको संरक्षण र रक्षा गर्नु हो भन्ने हेक्कासमेत रहेनछ । गेरु वस्त्रधारी विवादित देख्ने नजरले अन्यपात्र नदेख्नु अर्को उदेशलाग्दो पक्ष हो । हिजोका दिन विवादित थिए भन्ने हेतु हो भने त्यहाँको अन्य पात्रको इतिहासमा कुनै विवाद थिएनन् ? यदि उनीहरु आजपनि विवादित पात्र नै हुन् भने कानुनअनुसार कार्वाही गर्न किन नसकेको ? मलाई यी दुई पात्रसँगको इतिहास र वर्तमानसँग मतलव छैन तर गेरुवस्त्रप्रति यतिधेरै आरिश भएको देखेर चैँ मनका कुरा व्यक्त गर्नैपर्ने देखेको हुँ । पछिल्लो समय नेपालमा सनातन धर्मप्रति विभिन्न बहानामा आक्रमण हुँदै आएको छ । अहिलेको यो कन्ट्रोभर्सीलाई यसैको अर्को अंशका रुपमा लिन सकिन्छ । यदि यो होइनभने विवादका सयौँ अनुहारमध्ये यी दुई पात्रमात्र कसरी चर्चामा आए ? विवाद सानो होस् या ठुलो, पुरानो होस् या नयाँ, मिलिसकेको होस् वा चलिरहेको, यो सबैका लागि उत्तिकै हो । तर धर्मगुरुका अनुहार देख्नासाथै यसरी आत्तिहाल्नुपर्ने, डराइहाल्नुपर्ने, कोकोहोलो गरिहाल्नुपर्ने खास कारण चैँ बुझ्‌न अझै सकिरहेको छैन ।

धार्मिक पहिचानकै आधारमा विगत कोट्याएर सनातन धर्मको अवमूल्यन गरिन्छ भने यो किमार्थ स्विकार्य हुदैन ।

यति लेखिरहँदा यी विवादित भनिएका पात्रहरुको बचाउ गर्न खोज्यो भन्ने धारणा कसैले बनाउँछन् भने यो कदापी होइन । यहाँ पात्रसँग होइन प्रवित्तिसँग मेरो प्रश्न हो । सनातन धर्ममाथि अनायसै उठेका प्रश्नहरुको भिडमा देखेको छित्र हो यो लेख । चन्दन तिलक लगाएर मञ्च प्रवेश गरेकाहरुमाथि आएका प्रश्नहरुको छालले उब्जाएको अर्को खुल्दुली हो यो जुन अनुत्तरित छ तर अनिवार्य । कोहिपनि कानुनभन्दा माथि हुनुहुदैन र गलत गर्नेलाई कानुनअनुसार सजाय हुनैपर्छ । तर विगतलाई कोट्याएर वर्तमान धमिल्याउन खोज्नु कत्तिको जायज होला ? प्रश्न गर्नपनि पाइन्छ । यी पात्र के साइनोेले त्यहाँ पुगे भन्नपनि पाइन्छ । विरोध नै गर्नपनि पाइन्छ । तर त्यहाँ देखिएका अनुहारहरु सबैको साइनो जेनजी आन्दोलनमा जोडिएको थियो त ? यसको उत्तर चैँ पक्कै खोज्नुपर्छ । हिजो गोली चल्दा र सिंहदरबार जल्दाको अवस्थामा अनुत्तरित प्रश्नहरुले यो दृश्यमा झन् प्रतिप्रश्न गरेको त छैन ? धार्मिक पहिचानकै आधारमा विगत कोट्याएर सनातन धर्मको अवमूल्यन गरिन्छ भने यो किमार्थ स्विकार्य हुदैन ।