काठमाडौँ, २ असार २०८३ ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले यस्तो प्रस्ताव गर्नुभएको हो ।
अहिलेको ५ सय र १ हजार जरिवाना ज्यादै न्यून भएको र यसले कसैलाई डर नभएकाले नियम उल्लंघन गर्नेहरु बढेको भन्दै उहाँले नियम नमान्नेलाई कम्तीमा ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक भएको बताउनुभयो । काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने उहाँको चेतावनी छ ।
एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब ६५ लाख सवारी साधन दर्ता भएकोमा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन गुड्ने गरेका छन् । यति ठूलो सङ्ख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा २६ सयको हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
दुर्घटनाको वास्तविक प्रमाण जुटाउन र विवाद अन्त्य गर्न सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने भन्दै उहाँले नाकाहरूमा डिजिटल इन्टिग्रेटेड चेकपोष्ट र सरकारी तवरबाटै सवारी तौलने ’धर्मकाँटा’ को व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै पुराना र म्याद सकिएका गाडीहरूलाई सडकबाट हटाउन तत्काल ’र्स्क्याप पोलिसी’ ल्याउनुपर्ने उहाँको भनाइ छ ।
विद्यालयको पाठ्यक्रममै ट्राफिक नियम समावेश गर्ने तथा ट्राफिक निगरानीका लागि ड्रोन, एआई र रोबोटको प्रयोग बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको मात्रै भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढाउन सरकार र सरोकारवाला निकायसँग आग्रह समेत गर्नुभयो ।
