आज नेपालको पहिलो सुरुङमार्गकाे उद्घाटन हुँदै, परीक्षण अवधिभर निःशुल्क

यातयात समाचार समाज

काठमाडाैँ, ११ साउन २०८३ ।

आज नेपालको पहिलो सुरुङमार्गकाे उद्घाटन हुँदैछ ।  नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुन लागेकाे हाे ।

आज उदघाटन भएपछि केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ । यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरुका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ । परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाडीहरुबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ ।

निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागेका छन्।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सडक र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घन्टासम्म समय बचत हुने अपेक्षा छ । साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाडीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ ।

सुरुङमार्गको लम्बाइ झण्डै साढे दुई किलोमिटर रहेको छ । आयोजनाअन्तर्गत दुईवटा सुरुङ निर्माण गरिएका छन् । समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपतकालिन अवस्थाका लागि प्रयोग गरिनेछ । सुरुङ निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित बनाइएको छ ।

अत्याधुनिक सिसीटिभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, सञ्चार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेसन प्रणाली, आपत्कालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ ।

सुरुङमार्गमा सबै प्रकारका गाडी भने सञ्चालन गर्न पाइने छैन । पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे गाडी, पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका गाडी, विस्फोटक पदार्थ बोकेका गाडी प्रवेश गर्न पाउने छैनन् । परीक्षण अवधि समाप्त भएपछि सुरुङमार्ग प्रयोग गर्ने गाडीहरुले निर्धारित शुल्क तिर्नुपर्नेछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ। यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।