सुजन प्रेमी सुवेदी
काठमाडौँ, २५ जेठ २०८३ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुका साना तथा घरेलु उद्योग र उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको हो ।
सोमबार नगरपालिकाको परिसरमा सञ्चालित हाटबजारमा स्थानीयहरुले कृषि उत्पादन, स्थानीय तथा घरेलु उत्पादन, हस्तकला सामग्री विक्रिका लागि राखेको चन्द्रागिरि नगरपालिकाकी लघु उद्यम विकास सहजकर्ता सविता दर्लामीले जानकारी दिनुभयो । नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तरगत तालिम दिएका स्थानीयहरुले नै उत्पादन गरेका वस्तुहरु हाटबाजारमा राखिएको उहाँको भनाई छ ।
कार्यक्रमले स्थानीयहरुलाई तालिम, उत्पादनमा सहयोग, व्यवसाय सञ्चालनमा सहुलियत व्यजमा ऋण लगायतका कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ । हाटबाजारमा सहभागी भएका स्थानीय उद्यमीहरुले नगरपालिकाले कम्तीमा हप्ताको एकदिन हाटबजार सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
नगरपालिकाले स्थानीय स्तरका स्रोत साधन प्रयोग गरेर उत्पादन गर्ने कार्यमा बढी जोड दिने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता भणडरीले बताउनुभयो । यहाँ उत्पादन भएका स्थानीय उत्पादनहरु विदेशमा समेत निर्यात भैरहेको उहाँको भनाई छ ।
