नागढुङ्गा सुरुङमार्ग खुला, यस्ताे छ मापदण्ड

यातयात समाचार

काठमाडाैं, ८ भदाै २०८३ ।

आजबाट नागढुङ्गा सुरुङमार्ग खुला भएकाे छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा  आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको हाे ।

आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयाे । जैसीका अनुसार हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ ।

यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए ।