काठमाडौं, ११ मङ्सिर २०८२ ।
नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो ।
पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
साबिककै आकार तथा रङमा रहेको नोटको अगाडितर्फको मध्य भागमा नेपालको चुच्चे नक्सा रहेको छ । मध्य भागमा नेपालको नक्सा सहित अशोक स्तम्भको चित्र रहेको छ । नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नोटको पछिल्लोतर्फको मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र रहेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।
यस्तो छ नया नोट
नोटको अग्रभागमा
वायाँतर्फ सगरमाथाको चित्र रहेको
दायाँतर्फ लागिगुराँसको पानी छाप रहेको ।
मध्य भागमा नेपालको नक्सा रहेको ।
मध्य भागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्लो रहेको र वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिक मा मायादेवीको चित्र रहेको ।
२ मिलिमिटर चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको ।
नोटको पृष्ठ भागमा
मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
तल्लो भागको बोर्डरमा RUPEES ONE HUNDRED लेखिएको ।
तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2024 A.D. एडी लेखिएको ।


