सिन्धुली,४ फागुन २०८२ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आइतबार महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पञ्चेबाजा सहित पण्डीत,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो ।
कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगायत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा गरी मण्डपमा १ सय आठ भन्दा बढीको संख्यामा कलश प्रतिस्थापना गरिएको थियो । फाल्गुन ३ गते पुर्वाङ्ग भै फाल्गन १० गते समापन गरिने श्रीमद्भागवत महायज्ञमा पण्डीत कमल नयन काफ्लेको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद कोईरालाले बताउनुभयो ।
श्रीमद्भागवत ज्ञानमहायज्ञका अबसरमा दैनिक रुपमा कथा प्रवचन,पाठ ,पारायाण, भजन किर्तन,आरती हुने जनाईएको छ भने ज्ञानमहायज्ञको समापनको अवसरमा सामुहिक व्रतवन्ध, लक्ष्यवर्ति प्रज्वलन लगायतका क्रियाकलाप हुन छ । रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिले विगत लामो समयदेखि हरेक वर्षको महाशिवरात्रीका शुभदिनदेखि धाम परिसरमा विभिन्न पुराणको आयोजना गर्दै आएको छ । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम पछिल्लो समयमा धार्मिक तर्थिस्थलको रुपमा विकास हुदै जान थालेको छ ।



