मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन २०८२ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ । वारीबेनी, केराबारी र फर्सेका केही खण्डमा घरधनीको सहमति र पहिरोका कारण ठेक्काबाट काम हटाइएको थियो ।

यस सडकले म्याग्दी, मुस्ताङ र पर्वतका स्थानीय बासिन्दा, पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहज बनाउनेछ । यातायात व्यवसायी बुद्धि पुनका अनुसार, यात्रा समय पुरानो एक घण्टाबाट अहिले १५/२० मिनेटमा छोटिएको छ । जलजला गाउँपालिका–७ का बाबुराम कार्कीले सडक स्तरोन्नतिपछि धुलो र हिलोमा कष्टपूर्ण यात्रा समाप्त भएको बताउनुभयो । रासस