“राज्य नसक्नेका लागि हुनुपर्छ” धुनिवेशी नगर प्रमुख आचार्य

सुजन प्रेमी सुवेदी
धादिङ, २८ फागुन २०८२ ।

धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले राज्य नसक्नेहरुका लागि हुनुपर्ने बताउनुभएको छ । जिल्लाखबर डटकमसँग कुराकानी गर्दै उहाँले कमजोर वर्गहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

स्थानीय सरकारले नै जनताको मर्का बढी बुझ्न सक्ने भन्दै उहाँले कमजोर वर्गको दायित्व राज्यले लिनुपर्ने धारणा राख्नुभयो । धुनिवेशी नगरपालिकाले बेसहाराहरुका लागि वृद्धाश्रम तथा हेरचाह आश्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै उहाँले हाल यो विश्रामस्थल बन्द भएपनि छिटै सञ्चालनमा ल्याउनेगरी काम भैरहेको बताउनुभयो ।

“राज्य सक्ने र पहुँच हुनेहरुका लागि होइन सक्दै नसक्नेहरुका लागि हुनुपर्छ” उहाँले भन्नुभयो “नगरपालिकाले बेसहारा र कमजोर वर्गको दायित्व आफैँले लिन्छ” । तिर्थ जान नसक्नेहरुका लागि तिर्थ लानेदेखि सहारा पाउन नसकेकाहरुलाई नगरपालिकाले नै भरणपोषण गर्नेसम्मको योजना नगरपालिकाको छ । हाल धुनिवेशी नगरपालिकामा आर्थिक अभावमा रहेकाहरुलाई जिविकोपार्जनका लागि तालीम, विउविजन तथा आयआर्जनका सामग्रीहरु वितरण गर्ने गरिएको र अति विपन्न परिवारका लागि थप सुविधा दिने गरिएको प्रमुख आचार्यको भनाई छ ।

आर्थिक अभावकै कारण विद्यालय जान नसक्नेहरुलाई निःशुल्क आवासीय अध्ययन गर्न पाउनुपर्ने भन्दै आचार्यले यसको दायित्व पनि नगरपालिकाले बोध गरिरहेको बताउनुभयो । अहिले राज्य नहुनेका लागि भन्दा हुनेहरुका लागि केन्द्रीत भएको आचार्यको गुनासो छ ।

आफ्नो कार्यकालमा धुनिवेशी नगरपालिकामा देखिनेगरी काम भएको भन्दै उहाँले नागरिकहरुका स–साना आवश्यकताहरुलाई बुझेर योजना कार्यान्वयन गर्ने गरिएको बताउनुभयो । जनतामा अपेक्षा धेरै हुने र राज्यसँग सिमित श्रोत र साधन हुने हुँदा पनि जनअपेक्षा अनुसारको काम गर्न नसकिएको उहाँको भनाई छ ।

नगरपालिकामा अहिले हिंसामा परेका तथा समस्यामा परेका महिलाहरुका लागि सेफ हाउस, सहाराविहिनहरुका लागि विश्रामघर आश्रम, पार्क जस्ता प्रत्यक्ष नागरिकहरुसँग जोडिएका संरचना र योजनाहरु रह्ेका छन् । काठमाडौं राजधानीबाट नजिकको पालिकाको रुपमा रहेको धुनिवेशी नगरपालिकाले आफ्नै भवन निर्माण गरि सेवा दिइरहेको छ ।