विपदपछि जुर्मुराउँदै बागलुङः मालढुङ्गाको पुल मर्मत गर्न सुरु, छिटै मर्मत हुने आशा

जिल्ला विशेष यातयात समाचार समाज

बागलुङ, १४ असोज २०८३ ।

बागलुङलाई राष्ट्रिय सडकसँग जोड्ने कालीगण्डकी नदीमाथिको मालढुङाको पुल मर्मत गर्न थालिएको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको कालीगण्डकी नदीको बाढीले क्षति बनाएको पुलको मर्मत थालिएको हो ।

कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा पर्वततर्फको भागमा क्षति पुगेपछि सडक सञ्जाल विच्छेद भएको थियो । पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मूल संरचनामा बाढीले क्षति पुर्‍याए पनि पुलसँगै जोडिएको पर्खाल कटान गरेकाले तत्कालका लागि ग्याबिन जाली लगाउने तयारी थालिएको छ । एक हप्ताभित्र पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको सडक डिभिजन पोखराका प्रमुख अधिकारीले बताउनुभयो ।

पुलमा क्षति भएपछि बागलुङ जिल्ला राष्ट्रिय सडकसञ्जालबाट विच्छेद भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सडकको पहुँच नहुँदा समस्या थप समस्या भएको छ । पर्वत तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुलाई अझै सास्ती भएको छ पुलमा क्षति पुग्दा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तर वैकल्पिक बाटोको रुपमा फलेवास जैमिनीघाट पुलमात्र रहेको र उक्त स्थानमा समेत बाटोको अवस्था नाजुक रहेको छ ।

पुलमा पुगेको क्षतिपछि दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु ओसारपसारमा पनि प्रभाव परेको छ । बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने गाडीले समेत यो पुल प्रयोग गर्दै आएका थिए ।