विपत्तिले थलिएको बालगुङः केन्द्रीय सडक सञ्जाल टुट्यो, सञ्चार र विद्युत अवरुद्ध

जिल्ला विशेष पालिका विशेष माैसम समाचार

सुजन प्रेमी सुवेदी
बागलुङ, १३ असोज २०८३ ।

बागलुङमा असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षाले अकल्पनीय विपत्ति निम्त्याएको छ । बागलुङ जिल्लाका विभिन्न पालिकामा बाढी पहिरोले ठुलो जनधनको क्षति भएको हो ।

बाढी पहिरोका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । शनिबार बागलुङको ताराखोला गाउँपालिकामा एक जनाको ज्यान गएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाले ज्यान गुमाएका थिए ।

यस्तै सोमबार प्राप्त जानकारी अनुसार ताराखोला गाउँपालिकामा २ जनाको पहिरोमा पुरिएर ज्यान गएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । तमानखोलामा एक जना अझै वेपत्ता भएको विवरण प्रहरीसँग छ ।

पहिरोमा पुरिएर निसीखोला गाउँपालिका ३ मा ३६ वर्षीया श्याम कुमारी बिक, उहाँका छोराहरू १३ वर्षीय मनोज बिक, ८ वर्षको मुकेश बिक र तीन वर्षीय निशान बिकको मृत्यु भएको छ भने निसीखोला गाउँपालिका ६ मा ५० वर्षीय सुर्य बहादुर घर्तीको मृत्यु भएको छ ।

शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिदा ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको थियो । यस्तै ताराखोलाकै वडा नं ५ सिपमा पहिरोले घर पुरिदा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिदा तमानखोला गाउँपालिका ४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्युभएको छ । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका ३ धर्नासुकमा घर पुरिदा ८० वर्षीय बुध्दिराज घर्ती र ६६ वर्षीया भिमदेवि घर्तीको मृत्युभएको थियो । सोही पहिरोका कारण हस्तविर श्रीपालीको श्रीमती वेपत्ता हुनुभएको छ ।

बाढी पहिरोका कारण बागलुङ जिल्ला केन्द्रीय सडक सञ्जालसँग विच्छेद भएको छ । बागलुङ प्रवेशको मूख्य नाकाको रुपमा रहेको मालढुङ्गामा अवस्थित कालीगण्डकी नदीमाथिको पुलमा कालीगण्डकी नदीले कटान गरी पर्वत खण्डमा क्षति पुर्‍याएकोे छ । मध्यपहाडी लोकमार्गसँग जोडिएको यो पुलमा क्षति पुगेपछि बागलुङ जिल्ला राष्ट्रिय राजमागसँग विच्छेद भएको छ ।

बागलुङ जिल्लाका अधिकांश स्थानीय तहमा अझैपनि विद्युत सेवा सुचारु हुन नसकेको स्थानीयहरुले बताएका छन् । साथै सो स्थानमा मोबाइल नेटवर्क, इन्टरनेट लगायतका सञ्चारसेवा समेत विच्छेद भएको छ ।

बाढी पहिरोका कारण बागलुङका अधिकांश सडक सञ्जाल विच्छेद भएको छ । कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग लगायतका मूख्य सडकहरुसमेत ठाउँ ठाउँमा अवरुद्ध छ । बाढी पहिरोले सरकारी तथा नीजि घर र भवनहरुसमेत भत्काएका छन् ।

फाइल फोटो