मुग्लिन-काठमाडौँ सडक खण्ड फेरी अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाण्डौ, ७ असोज २०८२ ।

मुग्लिन-काठमाडौँ सडक खण्ड फेरी अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सुख्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परेका छन् । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिन्छ । यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ । साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

बर्खा लागेसंगै यो बाटो बारम्बार अवरुद्ध हुने गरेको छ । दशैंको लागि पुर्व पश्चिम जाने यात्रुहरु अलपत्र परेका छन्  । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो पन्छाउन आज दिनभर लाग्नसक्ने बताउनुभएको छ  ।

नागढुंगा–मुग्लिन सडकखण्डको पहिरो र जाम छलेर आउजाउ गर्न सकिने केही विकल्पहरु पनि छन् ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्के खोला)नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प

काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ ।

यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।

जिल्ला प्रशासन कार्यालय धादिङकाे सूचना हेर्नुहाेस् ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds