काठमाडाैँ, ४ कात्तिक २०८३ ।
आज बडादशैँकाे मुख्य दिन, टीका र जमरा लगाएर मनाइँदैछ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाउन लागिएकाे हाे ।
दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
विजयादशमीको दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । टिका लगाइदिने पूर्व फर्किएका हुन्छन् ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ । देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
तर नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज एक दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । साथै केही जाति विशेषले दही र अक्षताका सेतो टीका पनि लगाउने गरेका छन् । विशेषगरी रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

