भोटेकोशी बाढी प्रभावित परिवारलाई घरभाडा रकम दिन थालियाे

अर्थ बजार जिल्ला विशेष जीवनशैलि पालिका विशेष समाचार समाज

नुवाकाेट, ९ मंसिर २०८३ । 

भोटेकोशी बाढी प्रभावित परिवारलाई घरभाडा रकम दिन थालिएकाे छ । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको हाे ।

सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयाे । श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई रकम उपलब्ध गराउन थालिएको छ ।

गएको भदौ १० को बाढीपछि विदुर नगर कार्यपालिकाको भदौ २० मा बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।  विवरण अद्यावधिक गर्ने काम भैरहेको र लाभग्राही कायम भएका सबैलाई जतिसक्दो छिटो रकम उपलब्ध गराउने उहाँको भनाइ छ ।

सरकारले बाढी प्रभावित ४ जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएको परिवारमा हरेक थप सदस्यका लागि प्रतिमहिना दुई हजारका दरले थप रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । हालसम्म विदुर नगरपालिकामा बाढी प्रभावित १ हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । तर केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुन सक्ने नगर उप प्रमुख प्रभा बोगटीले जानकारी दिनुभयाे । लाभग्राही पहिचानका लागि आवश्यक विवरण सङ्कलन तथा प्रमाणीकरणमा समय लागेकाले घरभाडाबापतको रकम वितरण गर्न ढिलाइ भएको उहाँकाे भनाइ छ ।

विदुर नगरपालिकाले घरभाडा दिने निर्णय गरेपछि सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित ठाउँमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च ६ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो । त्यो घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी विदुर नगरपालिकाले घरभाडाबापतको रकम उपलब्ध गराउन थालेको छ ।